म अलिकति पनि धर्मराएको छैन: केशव स्थापित

म अलिकति पनि धर्मराएको छैन: केशव स्थापित


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा पराजित एमाले उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेनलाई) बधाई दिएका छन् । उनले आज (शुक्रबार) बिहान सामाजिक सञ्जालमार्फत महानगरवासीले गरेको भरोसाको सम्मान बालेनले गर्ने अपेक्षा पनि राखेका छन् । साथै काठमाडौँको विकास र समृद्धिप्रति आफ्नो आकाङ्क्षा नधर्मराएको उनको भनाइ छ ।

‘जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि, यहाँको विकास र संवृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले पटक–पटक लडेर पनि धुलो टकटक्याएर उठेको व्यक्ति भएको पनि बताएका छन् । ‘म पटक–पटक लडेर पनि धुलो टकटक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौँपुस्ता जन्मिएको माटो हो,’ उनले लेखेका छन्, ‘त्यसैले मलाई यहाँको माटो, सम्पदा, संस्कृति, विकास र समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’

उनले उपमेयरमा निर्वाचित एमालेकी सुनिता डङ्गोललाई पनि बधाई दिएका छन् ।