काठमाडौंको फोहोर बिसर्जन गरिने सिसडोल सधैंका लागि बन्द !

काठमाडौंको फोहोर बिसर्जन गरिने सिसडोल सधैंका लागि बन्द !

फोहोर झार्न पनि दिनुपर्ने, कुटाइ पनि खाइदिनुपर्ने हो ? राज्यको यो अत्याचार अब ओखरपौवाका जनताले सहने छैनन, यसको समाधान हामी वैधानिक बाटोबाटै खोज्छौं : वडाध्यक्ष बलामी



काठमाडौं । ककनी गाउँपालिकाले अब काठमाडौं उपत्यकाको फोहोर बिसर्जन गर्न सधैंका लागि बन्द गर्ने भएको छ । ककनी गाउँपालिकाको वडा नं. १ को ओखरपौवा सिसडोलमा काठमाडौं उपत्यकाको फोहोर नियमित बिसर्जन गरिँदै आएको थियो । उपत्यकाको फोहोर सिसडोलमा बिसर्जन गर्न वैधानिक रुपमै सधैंका लागि बन्द गर्ने तयारी थालिएको वडाध्यक्ष पदम बलामीले बताए ।

दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका वडाध्यक्ष बलामीले शहरी विकास मन्त्रालयले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री रामकुमारी झाक्रीलाई भने, काठमाडौं महानगरपालिकाले आफ्नो फोहोर आफै व्यवस्थापन गरोस्, फोहोर व्यवस्थापनका लागि अब हामी स्थान उपलब्ध गराउँन सक्दैनौं ।’

स्थानीयवासीलाई झुटो आश्वासन दिएर काठमाडौं महानगरपालिकाले ओखरपौवामा वर्षौदेखि फोहोर फालेको वडाध्यक्ष बलामीले बताए । नयाँ ल्यान्ड फिल्ड साइट निर्माणका लागि ६ अर्ब रुपैयाँ खर्च भयो भनिएको छ, त्यो हाम्रो पालिकामा कसलाई सोधेर कहाँ खर्च भएको हो त्यसको जवाफ दिनुपर्छ । यसको चित्त बुझ्दो जवाफ नआएसम्म हामी काठमाडौंको फोहोर बिर्सजन गर्न दिँदैनौं ।

बन्चरे डाँडामा बन्दै गरेको नयाँ ल्यान्डफिल्डका प्रभावित बस्ती सार्ने भनिएको थियो, तर त्यसका लागि बजेट विनियोजन भएको छैन । त्यहाँको बस्ती सार्नका लागि कम्तीमा ९ अर्ब रुपैयाँ चाहिन्छ, रातो किताबमा बजेट उल्लेख नभइ त्यो रकम कसरी विनियोजन हुन्छ ? भनी वडाध्यक्ष बलामीले मन्त्री झाक्रीलाई प्रश्न गरेका थिए । स्थानीयका लागि १० बेडको अस्पताल निर्माण गर्ने, त्यो अस्पतालमा उपचार सम्भव नभए शिक्षण र बीर अस्पतालमा निःशुल्क उपचार गरिदिने सम्झौता भएको थियो । त्यो सम्झौताअनुसार खोइ काम भएको ? सम्झौताअनुसार कुन कुन शीर्षकमा कति बजेट आयो, अब कति आउँदैछ ? यसको जानकारी हामीलाई चाहिन्छ । यो जानकारी स्थानीय जनता पाए भने मात्र आन्दोलन रोकिने वडाध्यक्ष बलामीले बताए ।

३ सय ६५ दिन प्रहरी लगाएर फोहोर झार्ने सम्भव छ ? फोहोर झार्न पनि दिनुपर्ने, कुटाइ पनि खाइदिनुपर्ने हो ? राज्यको यो अत्याचार अब ओखरपौवाका जनताले सहने छैनन भन्दै वडाध्यक्ष बलामीले भने, अहिले के कारणले त्यस क्षेत्रमा प्रहरी जम्मा भइरहेका छन् ? बाटो कब्जा गर्न होला, फोहोर खन्याएर जाने, प्रहरी घरभित्र पसेर जनता कुट्ने गरेका छन्, अब यसको समाधान हामी अब वैधानिक बाटोबाटै खोज्ने छौं ।’