न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठको उम्मेदवारी घोषणा

न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठको उम्मेदवारी घोषणा

पछिल्लो समयमा अमेरिकन मुलधारको राजनीतिमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दै गएको छ । जननिर्वाचित उच्च पदमा पुग्न सफल नेपाली मूलका अमेरिकन ह्यारी भण्डारी मेरिल्याण्ड राज्यका सांसद हुन् ।


ग्लोब नेपाल
270
Shares

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा डिस्ट्रिक्ट १०३ बाट उम्मेदवारीको घोषणा गरेकी हुन् । न्युयोर्क राज्य संसदमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो नेपाली मूलकी अमेरिकन हुन् ।

सराहनालाई डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टरले इन्डोर्स गरेको थियो । उनको उम्मेदवारीलाई चर्चित अमेरिकन सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजले पनि समर्थन गरिसकेकी छिन् । त्यस्तै अमेरिकन चर्चित कलाकार र अधिकारकर्मी सिन्थिया निक्सनले पनि सराहनाको उम्मेदबारीको समर्थन गरेकी छिन् ।

जलवायु संकट र आर्थिक तथा सामाजिक न्यायका विषयमा आवाज उठाउँदै आएकी सराहनाले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने क्षेत्रबाट उम्मेदबारीको घोषणा गरेकी हुन् ।

आगामी प्राइमरीका लागि सराहनाले गतबर्ष नै चुनावी अभियान सुरु गरेकी थिइन् । उनले न्युयोर्क हेल्थ एक्ट, गुड कज इभिक्सन र ग्रीन न्यु डिलजस्ता बामपन्थी एजेण्डाहरुको समर्थन गरेकी छिन् ।

उनले जुनमा हुने प्राइमरीमा अर्का उम्मेदबार केभिन काहिलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जुनमा हुने प्राइमरी चुनावमा जितेको खण्डमा उनले नोभेम्बरमा हुने अन्तिम चुनावमा जित्ने लगभग निश्चित रहनेछ ।

पछिल्लो समयमा अमेरिकन मुलधारको राजनीतिमा नेपाली अमेरिकनहरुको सहभागिता बढ्दै गएको छ । जननिर्वाचित उच्च पदमा पुग्न सफल नेपाली मूलका अमेरिकन ह्यारी भण्डारी मेरिल्याण्ड राज्यका सांसद हुन् ।