नयाँ बजेटबारे प्रदेशभरबाट सुझाव सङ्कलन गर्दै सरकार

नयाँ बजेटबारे प्रदेशभरबाट सुझाव सङ्कलन गर्दै सरकार


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम तथा बजेटबारे प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सुझाव सङ्कलन गरेर मन्त्रीहरू राजधानी विराटनगर फर्किएका छन्। तल्लो तहसम्मै पुगेर सुझाव सङ्कलन गर्दा वास्तविकतामा आधारित भएर बजेट बनाउन सहयोग मिल्ने प्रदेश सरकारको भनाइ छ।

प्रदेशका मन्त्री तथा सचिवहरू, योजना आयोगका पदाधिकारी गएर सुझाव सङ्कलन गरेको र यही साता स्थानीय तहका सबै प्रमुख र उपप्रमुखको भेला गरेर पनि सुझाव सङ्कलन गरिने सरकारको भनाइ छ।

बजेटमा समेट्नुपर्ने विषय तथा स्थानीय स्तरको आवश्यकताका योजनाहरू मसिनोसँग बुझ्ने र जनता तथा सरोकारवाला पक्षसँग छलफल अन्तरक्रिया गरेरै बजेट बनाउने उद्देश्यले सबै जिल्लामा छलफल गरिएको आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले जानकारी दिए।

‘तीन तहका सरकारबीचको समन्वयको अवस्था, आयोजनाको दोहोरोपनको समस्याबारे यो छलफलले धेरै वस्तुगत अवस्था प्रस्ट पारेको छ’, मन्त्री आङ्बोले भने, ‘आजसम्ममा सबै जिल्ला पुगेको टोली विराटनगर आइपुग्दैछ। सङ्कलित सुझावलाई नीति कार्यक्रम तथा बजेटमा समेट्ने प्रयास हुनेछ।’

छलफलबाट असार १ मा आउने प्रदेशको र स्थानीय तहको असार १० गते आउने बजेट निर्माणमा पनि पृष्ठपोषण र सहजीकरण हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

प्रदेश सभाको दसौँ तथा बजेट अधिवेशन जेठ १६ गते सोमबारबाट सुरु हुँदैछ ।

अधिवेशनको पहिलो दिन सोमबार सरकारले बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्दैछ। जेठ २५ मा नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्नेछन्।

हाल प्रदेशसभामा प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८ छलफलका क्रममा छन्।