मैत्रिपूर्ण फुटबलमा स्पेन र पोर्चुगलले खेले बराबरी

मैत्रिपूर्ण फुटबलमा स्पेन र पोर्चुगलले खेले बराबरी



अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । बिहीबार राति स्पेनको सेभिलमा भएको खेलमा स्पेन र पोर्चुगलले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ८२ औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १–१ गोलको बराबरीमा ल्याए । विश्वकप फुटबलको तयारीमा रहेका दुई दावेदार टोलीहरु १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

यसैगरी, बिहीबार राति भएका अर्काे खेलमा ब्राजिलले दक्षिण कोरियालाई ५–१ ले हराएको छ । खेलमा ब्राजिलको लागि नेयमारले दुई गोल गर्दा रिचार्लीसन, फिलिप कौटिन्हो र ग्याब्रियल जिससले एक एक गोल थपे । दक्षिण कोरियाका उइ–जो ह्वाङले एक गोल गरे ।

खेलको सातौं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, ३१ औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ हि चेनले गोल गर्दै खेल बराबरीमा ल्याए । ४२ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई २–१ ले अघि बढाए । ५७ औं मिनेटमा नेयमारले पेनाल्टीमै गोल गर्दै ब्राजिललाई ३–१ को अग्रता दिलाए । ८० औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दे ब्राजिललाई ४–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा जिसस ग्याब्रियलले गोल गर्दै ब्राजिललाई ५–१ को फराकिलो जित दिलाए ।

यसैगरी, चेक गणतन्त्रले स्विट्जरल्याण्डलाई २–१ ले हराउँदा स्विडेनले स्लोभेनियामाथि २–० को जित निकाल्यो ।