सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ, अवरोध गरिदिनुभएन

सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ, अवरोध गरिदिनुभएन


ग्लोब नेपाल
999
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुगे । लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न उनी त्यहाँ पुगेका थिए । 

उपमेयर सुनीता डंगोलसहित महानगरको टोलीले केहीबेर स्थानीयसँग छलफल पनि गरे । छलफलको क्रममा मेयर साहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने बताए । 

स्थानीयका कुरा सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्रमा दुर्घन्ध हटाइने बताए । त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध गर्न नहुनेमा जोड दिए । 

स्थानीयसँग उनले अर्को पनि प्रतिबद्धता जनाए । फोहोरबाट मल बनाउने सिस्टम जडान गरेर त्यहाँको फोहोरलाई मलमा परिणत गर्ने बताए । ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि अघि सारे । यी दुवै कामको लागि कम्तिमा चार महिनाको समय लाग्ने बताए । 

छलफलको क्रममा स्थानीयले राज्यसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा फोहोर विर्सजन गर्न नदिएको बताएका थिए । फोहोर र मानिसहरू एकै ठाउँमा बस्न नसकिने भन्दै चाँडो भन्दा चाँडो त्यसको व्यवस्थापन गर्न पनि मेयरसँग आग्रह गरे । 

सिसडोलवासीले फोहोर बिर्सजनमा अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन् । फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न मेयर साहले यसअघि बिहीबार सहरी विकासमन्त्री रामकुमारी झाक्रीसँग भेट गरेका थिए । भेटको क्रममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान खोज्ने विषयमा छलफल भएको थियो । 

अहिले निर्माणाधिन अवस्थामा रहेको बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो । मेयरमा निर्वाचित भएसँगै मेयर साह सिसडोल र बञ्चरेडाँडाको अवलोकनका लागि पुगेका थिए । त्यसपछि आज बिहान उनी सिसडोल पुगेका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म कुनै पनि उत्सव नमनाउने उनले घोषणा गरेका छन् ।