सबैभन्दा बढी चिन्ता शेरबहादुर देउवाको लाग्छ : गगन थापा

सबैभन्दा बढी चिन्ता शेरबहादुर देउवाको लाग्छ : गगन थापा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई सबैभन्दा बढी चिन्ता पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको लाग्ने गरेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले प्रजातान्त्रिक आन्दोलनमा देउवाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनको राजनीतिक व्यक्तित्व र मर्यादाप्रति आफू संवेदनशील रहेको बताएका हुन् ।

विशेष महाधिवेशनपछि पार्टीभित्रैबाट आफूविरुद्ध विभिन्न आलोचना र टिप्पणी हुने गरेको भए पनि त्यसले आफूलाई कुनै चिन्ता नलाग्ने थापाको भनाइ थियो । तर, पूर्वसभापति देउवाले सार्वजनिक मञ्चबाट व्यक्त गर्ने अभिव्यक्तिप्रति भने आफू चिन्तित रहेको उनले बताए ।

थापाले देउवालाई कांग्रेसको निवर्तमान सभापति मात्र नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको नेता भन्दै सम्मानका साथ राजनीतिक मर्यादा कायम राख्न आग्रह गरे ।

‘मेरो निन्दा गरेर कसैको घरधन्दा चलेको छ, कसैको पोलिटिकल आइडेन्टिटी बनेको छ भने हुन दिऊँ । त्यो पनि साथीभाइ नै हुन् । तर मेरो चिन्ता आजको दिनमा कसको हो भन्दा मेरो निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवाको चिन्ता हो,’ उनले भने ।

देउवासँग विगतदेखि नै राजनीतिक असहमति रहँदै आएको स्मरण गर्दै थापाले ती असहमतिहरू राजनीतिक विषय भएको बताए । आफूले देउवा पार्टी सभापति हुँदा पनि फरक मत राखेको तर पार्टीको निर्णय स्वीकार गरेर बसेको उनको भनाइ थियो ।

विशेष महाधिवेशन पार्टीको विधि र विधानअनुसार सम्पन्न गरिएको दाबी गर्दै थापाले त्यसप्रति असहमति राख्ने अधिकार सबैलाई रहेको स्पष्ट पारे । तर, असहमति व्यक्त गर्दा राजनीतिक भाषा, व्यवहार र मर्यादा कायम राख्नुपर्नेमा उनले जोड दिए ।

‘विशेष महाधिवेशनमाथि प्रश्न उठाउनुस्, मेरो भन्नु केही छैन । किनकि त्यसभित्र तपाईंले प्रश्न गर्ने ठाउँहरू होलान्, अवश्य तपाईंका असन्तुष्टि होलान् । तर त्यो राजनीतिक हुनुपर्छ,’ थापाले भने ।

उनले देउवाको राजनीतिक उचाइ र योगदानलाई स्मरण गराउँदै जीवनको यस चरणमा राजनीतिक अभिव्यक्ति र व्यवहारमा विशेष ध्यान दिन आग्रह गरे ।

‘तपाईं अहिले पनि हाम्रो नेता हो, तपाईं हाम्रो अभिभावक हो । तपाईंको सभापतित्वमा बसेर हामीले काम गरेको हो । त्यसैले तपाईंको बोली राजनीतिक हुनुपर्छ, असहमति पनि राजनीतिक हुनुपर्छ । त्यसलाई एउटा सीमाभित्र र मर्यादाभित्र राख्नुपर्छ,’ उनले भने ।

सभापति थापाले विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टि र मतभेदलाई संवादमार्फत समाधान गर्न आफू तयार रहेको पनि बताए । असन्तुष्ट नेताहरूसँग छलफल र संवादका लागि पार्टी नेतृत्व सधैँ खुला रहेको उनको भनाइ थियो ।

पार्टीभित्रका फरक मतलाई सम्मान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा राजनीतिक संवादलाई प्राथमिकता दिनुपर्ने बताए ।