विराटनगर कार्यपालिकाको निर्वाचनमा गठबन्धनभित्र अन्तरघात, एमाले र स्वतन्त्रलाई लाभ !

विराटनगर कार्यपालिकाको निर्वाचनमा गठबन्धनभित्र अन्तरघात, एमाले र स्वतन्त्रलाई लाभ !


ग्लोब नेपाल
81
Shares

विराटनगर । विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमाले र स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनका उम्मेदवार पराजित भए । निर्वाचनमा कांग्रेस, जसपा र राप्रपाको गठबन्धनमा अन्तरघात देखिएपछि एमाले र स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । स्थानीय तहको निर्वाचनमा नगरसभामा कांग्रेसका मेयरसहित ४० जना, एमालेका उपमेयरसहित ४३ जना, जसपाका १० जना, स्वतन्त्रबाट ३ जना र राप्रपाका १ जना निर्वाचित भएका थिए ।

कार्यपालिका निर्वाचनमा सत्तारुढ गठबन्धनमा कांग्रेस, जसपा र राप्रपाले तालमेल गरेका थिए । जसअनुसार नगरसभामा उनीहरुको ५१ मतभार कायम भएको थियो । विपक्षमा रहेका एमाले र स्वतन्त्रको गरी ४६ मतभार मात्रै थियो ।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकमा एमालेका दीपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सञ्जीव साह ५२ मत ल्याएर विजयी भएका छन् ।

अल्पसंख्यकमा कांग्रेसका प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत मात्रै पाए । महिलातर्फ सबै एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३, खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भए ।

कांग्रेसका पराजित उम्मेदवारहरू अञ्जु दाहाल गौतमले ४०, गायत्री थापा ३९, रुपा देउजा ४०, विनितासिंह ठकुरी ४० र सूर्यादेवी साहले ४० मत मात्रै पाएका थिए ।