रुपन्देही दुर्घटना अपडेटः ५ जनाको सनाखत

रुपन्देही दुर्घटना अपडेटः ५ जनाको सनाखत


ग्लोब नेपाल
189
Shares

रूपन्देही । रुपन्देहीको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु भएका ९ जनामध्ये पाँचजनाको पहिचान खुलेको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गर्दा भैरहवा परासी सडक खण्डको रोहिणी पुलमा बस दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये सनाखत पहिचान खुलेकोमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका-४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको अस्पताल प्रशासनले जनाएको छ ।

पहिचान खुलेका पाचजना मध्ये तीन जनाको भैरहवास्थित तीन जनाको भीम अस्पतालमा र युनिभर्सल मेडिकल कलेजमा दुई जनाको सनाखत भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आज बिहान साढे चार बजे भैरहवा-परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सीमानास्थित रोहिणी पुलबाट नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए ।

९ जनामध्ये चार जना भीम अस्पताल र ५ जना युनिभर्सल कलेजमा मृत्यु भएको थियो । भीम अस्पतालमा उपचारका लागि ल्याउदै गर्दा चार जनाको मृत्यु भएको थियो भने अन्य पाच जनाको युसिएमएसमा उपचारका क्रममा मृत्यु भएको थियो ।