स्थायी शिक्षककाे नतिजा निराशाजनक आएपछि आयोगले शिक्षा मन्त्रालयलाई गुहार्यो !

स्थायी शिक्षककाे नतिजा निराशाजनक आएपछि आयोगले शिक्षा मन्त्रालयलाई गुहार्यो !


ग्लोब नेपाल
378.4k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक पदको स्थायी परीक्षाको सामान्य विषयको नतिजा निराशाजनक आएपछि नतिजा सुधारका लागि अपनाउनुपर्ने उपायका बारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग गुहार मागेको छ ।

आयोगका अध्यक्ष मधु रेग्मीले नतिजा सन्तोषजनक नहुनुका बारेमा अझै अध्ययन नगरिएको बताए । उनले भने, “किन यस्तो नतिजा आयो भनेर हामी पनि चिन्तित छौँ । शिक्षामन्त्रीज्यूलाई नतिजा सुधारका लागि के गर्न सकिन्छ भनेर भनेका छौँ । उहाँले पनि चासो लिनुभएको छ । मन्त्रीज्यूले सरोकारवालासँग परामर्श र छलफल गर्ने भन्नुभएको छ ।”

अब कक्षा १२ को प्रमाणपत्रमा पेडागोजी र टिचिङ प्राक्टिस गरिएका कुरा पनि नदेखिने भएको यसले थप समस्या सिर्जना गर्ने विषयमा पनि आयोगले शिक्षामन्त्री देवेन्द्र पौडेलसमक्ष गुनासो गरेको छ । अब जारी गरिने कक्षा १२ को प्रमाणपत्रमा विद्यार्थी कुन धारका हुन् भन्ने पनि नछुट्टिने भएकाले कानुनमा भएको व्यवस्थाअनुसार शिक्षाशास्त्र उल्लेख नभएकालाई आयोगले सञ्चालन गर्ने कुनै पनि परीक्षामा सम्मिलित गराउन कानुनी रूपले नमिल्नेमा आयोगभित्र निकै बहस भएको छ । शिक्षक सेवा आयोग नियमावलीमा भएको जटिलतालाई फुकाउन शैक्षिक योग्यताका बारेमा परिमार्जन गर्नुपर्नेमा आयोगका पदाधिकारीबीच छलफल भएको छ । “एकीकृत प्रमाणपत्रका आधारमा शिक्षक पदको स्थायी प्रतियोगिताका लागि आवेदन दिन समस्या हुनेछ” अध्यक्ष रेग्मीले भने, “कानुनले शिक्षण अभ्यासका कुरा खोज्छ, प्रमाणपत्रमा त्यो नै नभएपछि समस्या हुनेछ ।”

कानुन अनुसार प्राथमिक वा निम्न माध्यमिक तहका लागि शिक्षाशास्त्र विषय लिएका बाहेकले कक्षा १२ वा सो सरह उत्तीर्ण गरी कम्तीमा १० महिने तालिम लिएको हुनुपर्ने व्यवस्था छ । अब १० महिने तालिमको व्यवस्था नरहेकोले शिक्षाशास्त्र विषय नलिएकाको हकमा के गर्ने भन्ने पनि अर्को टाउको दुःखाइको विषय बन्न पुगेको छ ।

निकै अघि अध्यापन अनुमतिपत्र लिएकाहरूले पनि सामान्य विषयको परीक्षामा सम्मिलित भएकाले उमेरका कारण त्यस्ता प्रतिस्पर्धीको नतिजा सकारात्मक नभएको हुनसक्ने आयोगका कर्मचारीहरू बताउँछन् । हालसम्म आयोगबाट साढे सात लाखले अनुमतिपत्र लिइसकेका छन् । त्यसबाहेक माध्यमिक शिक्षा परीक्षामा सबैभन्दा कमजोर नतिजा आएकाहरूलाई शिक्षाशास्त्रमा अध्ययनका लागि बाटो खुला गर्दा त्यसको असर अहिलेको परीक्षामा देखिएको हुनसक्ने भनाइ पनि उनीहरूको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम ९एसएसडीपी०ले शिक्षाशास्त्र विषयमा सर्वोत्कृष्ट अङ्क हासिल गर्नेलाई सिधै शिक्षकका लागि नियुक्तिको व्यवस्था गर्ने भने पनि त्यसलाई कार्यान्वयनमा ल्याइएको छैन ।