एसियन कप छनोट: आज जोर्डनको सामना गर्दै नेपाल

एसियन कप छनोट: आज जोर्डनको सामना गर्दै नेपाल


ग्लोब नेपाल
135
Shares

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज बुधबार राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

बलियो टिम जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा सजिलो छैन ।

नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

युवा खेलाडीसहित कुवेत पुगेका मुख्य प्रशिक्षक अलमुताईरी जोर्डनविरुद्ध दबाब रहित खेल्ने दाबी गर्छन् । अलमुताईरीले आफूले जोर्डनको खेल हेरेको बताउँदै अहिले टिम २०२६ को विश्वकप छनोटको तयारीका लागि रहेको समेत बताए ।

किरणको अनुपस्थितिमा कप्तानीको जिम्मेवारी पाएका नवयुगले जोर्डनविरुद्ध उत्कृष्ट खेल पस्कने बताए । कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । दोहामा नेपाली टोलीले ३ मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

छनोटको समूह ‘ए’मा रहेको नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।