विहानैदेखि वर्षाः आज यी क्षेत्रका खोला-नदीमा आउनसक्छ अचानक बाढी

विहानैदेखि वर्षाः आज यी क्षेत्रका खोला-नदीमा आउनसक्छ अचानक बाढी

नारायणगढ-मुग्लिन सडक अवरुद्ध


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपालमा मनसुनीयाम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोलानदीमा अचानक बाढी आउनसक्छ ।

तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खायाम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेकाे हाे । काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ । पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध
वर्षासँगै खसेको पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए । पहिराकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ । इच्छाकामना–४ स्थित नाग्दिखोलामा गएराति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।