अछाम घटनामा नगरप्रमुखसहित १३ जनाविरुद्ध किटानी जाहेरी

अछाम घटनामा नगरप्रमुखसहित १३ जनाविरुद्ध किटानी जाहेरी


ग्लोब नेपाल
756
Shares

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिका स्थानमा मृत अवस्थामा भेटिएका १७ वर्षका किशोरको हत्या आरोपमा नगरप्रमुखसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

कक्षा १० मा अध्ययनरत विनोद शाही जेठ २१ गते मृत अवस्थामा फेला परेपछि उनको हत्याको आरोपमा पीडितले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । चलाउने नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।

प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितले शव बुझेका छन् । मृतक शाहीको शव जिल्ला अस्पताल मङ्गलसेनमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ ।

घटनास्थलमा पुगेको प्रहरी प्रधान कार्यालय मातहत रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शङ्कास्पद ५ जनालाई पक्राउ गरेकोमा ३ जनालाई छाडिएको छ । घटनामा संलग्न नदेखिएपछि ३ जनालाई छोडिएको प्रहरीले बताएको छ ।