उपत्यकाको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग छलफल सुरु

उपत्यकाको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग छलफल सुरु


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बन्चरेडाँडाका स्थानीयबासिन्दासँग छलफल सुरु भएको छ ।

सहरी विकास मन्त्रालयमा सुरु भएको छलफलमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, सांसद गगन थापा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बन्चरेडाँडाका स्थानीयबासिन्दा सहभागी भएका छन् ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफल सुरु भएको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु परियारले जानकारी दिए । आज राति नै काठमाडौँ महानगरपालिका र बन्चरेडाँडाका स्थानीयबीच काठमाडौँको फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको थियो ।

यसअघि गत सोमबार सहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल, काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बन्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो ।

तर उक्त सहमतिमा बन्चरेडाँडाबासीले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथि अवरोध भएको थियो ।