प्रदेश नम्बर १ को नाम यसै अधिवेशनमा राख्न एमाले र कांग्रेस सहमत

प्रदेश नम्बर १ को नाम यसै अधिवेशनमा राख्न एमाले र कांग्रेस सहमत


ग्लोब नेपाल
1k
Shares

विराटनगर । नेकपा एमाले र नेपाली कांग्रेस बजेटपछि प्रदेशको नाम टुङ्गो लगाउन सहमत भएका छन्।

एमालेले बनाएको नामकरण सहजीकरण तथा समन्वय समितिको पहलमा कांग्रेस संसदीय दलका नेता र प्रमुख सचेतकसहित बसेको बैठकले यसै अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउने सहमति भएको हो। आइतवारको बैठकले यसै अधिवेशनबाट नामको विषय टुंगो लगाउने सहमति गरेको एमाले नेता एवम् सहजीकरण तथा समन्वय समिति संयोजक हिक्मत कार्कीले जानकारी दिए।

बैठकमा एमालेका तर्फबाट सहजीकरण समिति संयोजक कार्कीसहित सदस्यहरु जीवन घिमिरे,अर्जुन राई एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी सहभागी थिए। कांग्रेसका तर्फबाट संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई र प्रदेश सभा सदस्य लीला सुब्बासहित सहभागी थिए।

एमाले नेता कार्कीले जारी अधिवेशनबाट नाम टुङ्गो लगाउने सहमति भएको बताए । संयोजक कार्कीका अनुसार साझा नाम र साझा सहमतिको आधारमा प्रदेशको नामकरण पहल हुनेछ। आईतबार (आजै) संसद बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले एमाले नाम टुङ्गो लगाउन सकारात्मक भएका कारण सहकार्य गर्न सत्तापक्षलाई आग्रह गरेका थिए ।

एमालेले गठन गरेको कार्यदलमा पूर्वमन्त्री कार्कीसहित पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई सदस्य छन् ।