एमाले महासचिव पोखरलले भने: एसपीपीप्रति हाम्रो गम्भीर असहमति छ

एमाले महासचिव पोखरलले भने: एसपीपीप्रति हाम्रो गम्भीर असहमति छ


ग्लोब नेपाल
81
Shares

बुटवल । नेकपा एमालेका महासचिव तथा लुम्बीनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले सरकारले सैनिक गठबन्धन गरेर देशलाई भूराजनीतिक द्धन्द्धमा धकेल्न खोजेको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपाल रूपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपाली जनता कुनै पनि सैनिक गठबन्धनको पक्षमा नभएको उल्लेख गर्दै असंलग्न परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकुल प्रभाव पार्ने कार्य नगर्न सरकारलाई आग्रह गरे।

उनले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नगर्न सरकारको ध्यानाकर्षण समेत गराए। महासचिव पोखरेलले एसपीपीमा हस्ताक्षर भए नेपाल द्वन्द्वको थलो बन्ने आशंकामा बल पुग्ने बताए । ‘नेपाल कुनै मुलुकको सैनिक गठबन्धनको अंग बन्ने कुरा स्वीकार्य हुन्न’, महासचिव पोखरेलले भने, ‘एसपीपीप्रति हाम्रो पार्टीको गम्भीर असहमति छ ।’

पोखरेलले एमाले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा नरहेको उल्लेख गर्दै नेपालको असंलग्न परराष्ट्र नीति विपरित कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट पारे। प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा नै हुने भनिएको अमेरिका भ्रमणबारे देशलाई स्पष्ट पार्नुपर्ने महासचिव पोखरेलले माग गरे ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका महासचिव पोखरेलले सबैभन्दा पुरानो दल नेपाली कांग्रेस विकास र समृद्धिलाई छोडेर गठबन्धनको राजनितिमा रमाईरहेको जिकिर गरे। मुलुकको विकास र समृद्धिको लागि गठबन्धनको राजनीति उपयुक्त नभएको तर्क गर्दै उनले गठबन्धनले कुनै पनि व्यक्ति र पार्टीमा केही समय सत्तामा टिकाए पनि त्यसले मुलुकको विकास र राजनीतिक निकास ननिस्किने दावी गरे।