काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई पत्र आफ्नो पालामा नपठाएको बरु त्यसलाई रोक्ने काम भएको दाबी गरेका छन्।
स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको बताए । आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको ओलीले बताए । उनले भने, ‘भ्रम फिँजाउनका लागि प्रचण्डले यो केपी ओलीको नेतृत्वमा भएको हो भनेर भनेछन् । कमरेडहरू भ्रममा नपर्नुहोला केपी ओलीको नेतृत्वमा अस्वीकार गर्ने काम भएको हो ।’
अध्यक्ष ओलीले वर्तमान सरकारले एमसीसी पारित गरेसँगै हौसिएर अमेरिकी सेना राख्ने तयारी गरेको र नेकपा एमालेले त्यसको बिरोध गरेपछि सरकार पछि हटेको दाबी गरे। ‘अमेरिकाको एक राज्यले नेपाली सेनासँग बराबरी सम्झौतामा हस्ताक्षर गलत छ। सैन्य गठबन्धनमा हामी जाँदैनौं’, ओलीले भने, ‘त्यो गलत छ। भूकम्पको समयमा त्यसलाई सहयोग गर्नका लागि भनेर तत्कालीन समयमा गरिएको थियो।’
ओलीले ६ असोज २०७२ (सन् २०१५) मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वाटरमा पत्र पठाएको बताए । ‘हामी कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए । तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् ।’
ओलीले अमेरिकी दूतावासलाई पत्र लेख्ने काम प्रधानसेनापतिको नभई रक्षा मन्त्रालय या परराष्ट्र मन्त्रालयको हुने बताए । ‘प्रधानसेनापतिले पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम हो, परराष्ट्रको काम हो । प्रधानसेनापति आफूले लेखेको रहेछ । त्यो कुरा बताइएन, गुपचुप राखियो, पछि प्रचण्डजी प्रधानमन्त्री बनेपछि २०७४ वैशाख २४ गते राजेन्द्र क्षेत्रीले प्यासेफिक कमाण्डलाई पत्र लेख्नु भएको रहेछ, पहिलेको कुरा त्यत्तिकै सेलायो भनेर निवदन लेख्नु भएको रहेछ,’ ओलीले भने ।
प्रतिक्रिया