आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

चर्चित वरिष्ठ अधिवक्ताहरु बहस गर्दै


ग्लोब नेपाल
837
Shares

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी विवादको अन्तिम सुनुवाइले आज आइतबारबाट निरन्तरता पाउँदैछ।

जेठ ३० गते कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु गरे पनि त्यस दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा असार ५ गतेका लागि राखिएको थियो।

आजको बहसमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, राधेश्याम अधिकारी, हरिहर दाहाल, महादेव यादव, पूर्णमान शाक्य, सतिशकृष्ण खरेल र हरि उप्रेतीले बहस गर्दैछन् ।

यसैगरी अधिवक्ताहरु सुनील पोखरेल, ललित बस्नेत, शम्भु पोखरेल, सानुराजा पोखरेल, माधव बस्नेत, चन्द्र काफ्ले, अंकिता खनाल, सुरज बस्नेत र सुनिता राउतले पनि आज बहस गर्ने छन् ।

अन्तिम सुनुवाइका क्रममा एआईजी सिफारिस मुद्धामा दुवै पक्षबाट बहस भइसकेको छ भने आईजीपी सम्बन्धी विवादमा निवेदकतर्फबाट मेघराज पोखरेलले बहस सकेका छन्। सोही स्थितिबाट आज सुनुवाइ सुरु हुनेछ।

अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको सिफारिसविरुद्ध रिट हालेका तीन नायब महानिरीक्षक (डीआईजी) र आईजीपी बढुवा सम्बन्धी विश्वराज पोखरेलले दर्ता गरेको रिटलाई लगाउमा राखेर एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ।

सरकारले आफूभन्दा १७ महिना जुनियरलाई आईजिपी बनाएको भन्दै वरिष्ठ एआईजी पोखरेल न्याय माग्न सर्वोच्च अदालतमा पुगेका हुन् ।