निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

राष्ट्रिय गौरवका आयोजना बन्द गर्ने चेतावनी


ग्लोब नेपाल
297
Shares

काठमाडौं । निर्माण व्यवसायीले राष्ट्रिय गौरवका आयोजना र अति जरुरी निर्माण परियोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

मूल्य समायोजनलगायत माग राखेर ‘कन्ट्रक्सन होलिडे’ घोषणा गरेका निर्माण व्यवसायीले अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै आएका छन् । अब उनीहरुले आफ्ना माग सम्बोधन नगरे अत्यावश्यकबाहेकका परियोजना र राष्ट्रिय गौरवका आयोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरेर निर्माण सामग्रीको मूल्य समायोजन गर्न र व्यवसायीलाई राहत दिन माग गरेका छन् ।

महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको समेत जनाएको छ । इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजना पनि अब बन्द हुने स्थिति उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

‘निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेकोबाट समग्र निर्माण उद्योगको विकासप्रति नै सरकारको उदासिनता पुष्टि भएको छ,’ महासचिव दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायीले बिमा निर्देशिका २०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भई बिमा कम्पनीलाई सरकारले पोस्ने काम गरेको आरोप समेत लगाएको छ । महासंघले निर्देशिकमा तारिफलाई नन तारिफ नगरेको खण्डमा महासंघ, बिमा समितिविरुद्ध पुनः कडा आन्दोलनमा जान बाध्य हुने जनाएको छ ।

महासंघले निर्माण व्यवसायीहरु अहिले पनि म्याद थपको जटिलता, भुक्तानी नपाउने समस्याबाट पीडित रहेका बेला सार्वजनिक निकायले बैंक ग्यारेन्टीदाबी गरी ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गर्ने जस्ता अमावनीय कार्य गरी व्यवसायीलाई आतंकित बनाउने काम गरेको समेत जनाएको छ ।

निर्माण व्यवसायीलाई राहत दिनेगरी सरकारले तत्काल मूल्य समायोजन निर्देशिका जारी गर्नुपर्ने उनीहरूको माग छ । एक सातासम्म माग सम्बोधन नभए आन्दोलनमा उत्रने व्यवसायीको चेतावनी छ ।

‘मुलुकभर सञ्चालनमा रहेको राष्ट्रिय गौरवका आयोजनाहरू र अति आवश्यक निर्माण परियोजनाहरूसमेत बन्द गरी यसअघि स्थगित आन्दोलनका कार्यक्रमसहित एक साताभित्रै थप कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।