काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ । न्युज २४ टिभीले हिजो (मंगलबार) साँझ अडियो सार्वजनिक गरेको हो ।
न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (बुधबार) दिउँसो १ बजे न्यायपरिषद्को बैठक बोलाएका छन् । ‘गम्भीर विषयको अडियो नै बाहिर आएपछि यसबारे बुझ्नका लागि बैठक बोलाइएको हो’, कामु प्रधानन्यायाधीश कार्कीले भने ।
न्यायपरिषद् बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने भएको छ ।
सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।
अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौँ जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् । यो अडियो सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनै पनि इजलास नतोकेको एक अधिकारीले जानकारी दिए ।
न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको कुराकानीको अंश
अधिवक्ता पोखरेल- प्रधानन्यायाधीशबाट १ नम्बर र तपाईं दुईटैलाई म खबर गर्न लगाइदिन्छु ।
न्यायाधीश कोइराला- प्रधानन्यायाधीशले भन्छन् ?
पोखरेल- प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु । हजुरले गर्दै नगर्ने भए त म बेकारमा किन बचन खेर फाल्न जाने त भन्नु न ? गर्दै गर्दिँन भन्ने हो भने…
न्यायाधीश कोइराला केही भन्न खोज्छन् तर पोखरेल रोक्दै भन्छन्- हत्तेरिका तपाईं डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउँछ ? अनि किन अरु मान्छे कत्रो गरेर बस्या छन् अनि तपाईं…!
कोइराला– त्यो हो कि हुनलाई, तर के भनेदेखि त्यो अब (१ नम्बर लगायतका कुरा गर्छन्)
पोखरेल- तपाईंले यो छोड्नुभयो भने, तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छन् । यो मुद्दा अभियोग पत्र लगेर हेर्दा कुन चाहिँ माइकालालाले पैसा खाएर यति गर्यो भन्ने खालको छ ? अभियोगपत्रै त्यस्तो बनाएर ल्याएको छ । सहकारी ऐन बमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अली अप्ठ्यारो हुन्थ्यो । किनकी त्यहाँ त ऐनका सबै कुराहरू थिए । के- के थिए । ठगी त केही गरी ठहरिँदैन । नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?
कोइराला– त्यो त हो कि हुनलाई । त्यो कुरामा म कन्भिन्स छु तर कु के भनेदेखि पीडितहरू रोएर… लगायतका कुरा गर्छन्…
पोखरेल कुरा काट्दै भन्छन्- त्यो मध्येका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके । ‘तँलाई हामी ठिक गर्छौं’ भनिसके । बहस नै गर्न सक्नेलाई नभन्ने भन्ने हुन्न । त्यो मध्ये रामप्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्ट रहेछ । रिसाउँदै आएका थिए । त्यसको १० कि १२ करोड रहेछ । ‘तपाईंलाई त इमानदार, राम्रो वकिल भनेको त तामाङको पक्षमा यस्तो बहस गर्नुभयो तपाईंले’ भन्दै आएका थिए ।
कोइराला- हिजो डिल्लीप्रसालदभट्टराई भन्ने आठराईको हो । वकिललाई त्यसो भन्नु हुन्छ ? वहाँको पेसा हो, धर्म हो भनेँ ।
यहाँ न्यायाधीश कोइराला वकिललाई विचौलिया लगायतका कुरा भन्नेलाई आफूले हकारेको भन्दै पोखरेललाई सुनाउँछन् ।
पोखरेल- मैले त सुरुदेखि नै मैले भनेको थिए ।
न्यायाधीश कोइराला जाहेरवालाको वकिल को हो भनेर सोध्छन् । जवाफमा पोखरेलले रमेश बडाल भएको बताउँछन् । उनी पनि बहस गर्न आउने जानकारी आफूलाई भएको भन्दै न्यायाधीश कोइराला एक दिन त्यसै बहसमा जाने जानकारी दिन्छन् । पोखरेल भने बहस गर्ने दिन सुझाउँछन् ।
कोइराला– आज दिनभरी लागि हाल्छ । आज भोलि हुन सक्दैन । त्यसले गर्दा फेरि सुन्नुस् न बर्बाद हुन्छ नि त !
पोखरेल – केही हुन्न । माथि म गराउँछु । माथिबाट संकेत आएन भने नगरिस्यो हगी । माथिबाट म गराउँछु । अनि लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढंगले लिउँ । यो अवसर सधैं आउँदैन हेरिस्यो हगी । फेरि ठाउँ भएको ठाउँ छ ।
न्यायाधीश कोइराला हाँस्छन् ।
पोखरेल– ठाउँ भएको ठाउँ छ । ठाउँ नभएको भए के भन्या तैँले भन्नुहुन्थ्यो । अब हजुरले त सुरुदेखि नै अलिअलि मानसिकता बनाएको ।
कोइराला– प्रधानन्यायाधीशले भन्छन् त उनलाई ?
पोखरेल- भन्छन्, म भनाउँछु । लु मैले अब भन्न लगाए । अब बाँकी कुरा गर्नु न तपाईं। आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।
कोइराला- ल हेरौं न
पोखरेल- ल हेरौं न होइन, मैले त्यति गरिसकेपछि हजुरले फेरि नाइँ भने…
न्यायाधीश कोइराला भने सोही दिन आदेश नहुने बताउँछन् । उनले भोलिपल्ट मुद्दा अगाडि बढ्ने बताउँछन् ।
पोखरेल – सामान पनि ल्याओ भन्नुपर्यो । त्यत्तिकै फोकटमा त किन गर्ने फेरि । समयनै छैन नि त । हैन किन उ गरिस्या भन्या । सबै कुरा गरिसकेपछि यस्तो बेलामा उ गर्नु हुन्न सबै कुरा म गरिहाल्छु । माथिबाटै म भनाउछु । सामान पनि म लिन्छु । त्योभन्दा बाहिर अन्त कही एक्सपोज हुँदैन ।
पोखरेल आफूले सिधै डिल गर्ने जिम्मा लिन्छन् । कुनै च्यानलले डिल गर्न नसकेपछि आफैं डिल गर्ने उनको भनाइ थियो ।
कोइराला– धरौटी कति माग्ने भन्नु त ?
पोखरेल भने रिजनेबल (सुहाँउदो) माग्न सुझाउछन् । उनले १० करोडको हाराहारीमा माग्न अंक नै तोक्छन् । जवाफमा न्यायाधीश भन्छन्, ‘ठीक छ, हुन्छ ।’
कोइराला–‘अप्ठ्यारो पर्दैन ? जागिर जान्छ !’
पोखरेल- पर्दैन पर्दैन, सँधै यस्तो आउँदैन । अरु बेला गर्ने यस्तो बेलामा एकदुई वटा सिद्धन्त छाँट्ने गर्ने जाहेरकर्ताको हित भन्ने पासपोर्ट रोक्ने कुन्नि के भन्ने एकदुई आइडिया निकालौंला नि हजुर !
न्यायाधीश कोइराला आफूलाई कति रकम प्राप्त हुने भन्नेबारे सोध्छन् ।
पोखरेल- ‘यता तिर झ्याप्र्याक्कै २ जित लिउँ न !’
न्यायाधीश कोइराला समर्थनमा ‘अँ’ भनेर हाँस्छन् । फेरि पोखरेललाई सोध्छन्- ‘माथिबाट गर्छ त ?’
पोखरेल- अहिले गएर मैले नमस्ते गरेर यति काम तैले गर्नुपर्छ भन्दा गरेन भने त यो जति खुद्रागत को हुन्छ त ? पैसा खाएर चाहिँ लालकाजीको बारेमा उहिलेदेखि यत्रो गरिरहेको छ हैन त ?
कानुनी रूपमा कन्भिन्स भएको तर मिडियाले के गर्लान् कि भनेर न हो चिन्ता भनेर पोखरेल न्यायाधीशलाई सम्झाउछन् ।
कोइराला– मिडियाले के लेख्ला फेरि ? नारा जुलुस गर्लान कि ?
पोखरेल- त्यो केही गर्दैनन् । माथि जान्छ । माथिबाट उ भएर आउँछ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाई किन आत्तिएको ?
कोइरालाले नछोडे माथिकाले छोड्छ भन्दै पोखरेल न्यायाधीशलाई उकास्दै थप्छन्– बेकारमा अर्काका छोराछोरी उ गरेको किन गर्नुहुन्छ ? तपाईं आफ्नै गर्नु न !
कोइराला – त्यो त हो कि । ठिकै छ । माथिबाट भन्नु न । १ नम्बरलाई भन्नु न।
पोखरेल- ठिक छ म भन्न लगाउँछु । माथिबाट भन्न लगाउछु । पैसा म बेलुका समाति सक्छु ।
कोइराला – ठिक छ । बुझैँ त । १० करोड भन्दा धरौटी ५० करोड माग्नु पर्छ कि ?
त्यसमा पोखरेल असहमति जनाउँछन्- ‘५० करोड भन्दा त यसै थुनै भइगयो त्यसलाई ।’
न्यायाधीश कोइराला फेरि मिडियामा कस्तो समाचार आउँछ भनेर चिन्ता जाहेर गर्छन्- ‘सुन्नु न पत्रिकामा आउँछ कि ? डर लाग्छ । जागिर खान्छन् कि भन्ने डर लाग्छ ।’
पोखरेल फेरि ढाडस दिन्छन्- ‘कसरी खान्छन् हो जागिर ? उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने मेरो काम हो । अनि कसरी जागिर खान्छ ?’
कोइराला- ‘सदर भएन भने ? बदर भयो भने ? पत्रिकामा आयो भने ?’
यतिबेला भने पोखरेल झर्किन्छन्- ‘कस्तो कुरा गरिस्या होला ? पत्रिकामा आएकै आधारमा गर्ने हो भने त हजुरहरू जस्तो मान्छे न्यायाधीश भएको के काम ? पत्रिकामा आउने यो उ गर्ने हो भने त त्यसै तारिखमा छोड्नुपर्ने मान्छे छ । इस्युका आधारमा त तारिखमै छोड्नु पर्ने ।’
पोखरेल अगाडि भन्छन्- ‘हजुरले साह्रै खुट्टा कमाउने टेक्दै टेक्दैन भन्ने हो भने त नगरौं कुरा । हैन माथिबाट कुरा आउँदा पनि ‘
न्यायाधीश आफू डराएकै बताउँछन् । भन्छन्, ‘भोलि पत्रिकामा आउर छ्याल्लब्याल्ल भएर के भयो भनेदेखि ?’
पेसीमा किन सहभागी भएको भनेर पोखरेल थर्काउँछन्– ‘त्यसोभए किन बेकारमा गोला तान्ने त ? त्यो अर्काकोमै परेको भए हुन्थ्यो ।’
न्यायाधीश हाँस्दै भन्छन्- ‘तान्दाखेरि परेको क्या !’
पोखरेल पीडितको पक्षमा पनि आदेशमा लेख्ने कुरा सुझाउछन् । भन्छन्- ‘उनीहरूको पक्षमा पनि दुईचार वटा कुरा लेखौंला नि हजुर ! विदेश जान नपाउने पासपोर्ट उ गर्ने उसमा बस्नुपर्ने । के के हुन्छन् मलाई सबै के थाहा हुन्छ र हजुरलाई सबै आइडिया छ नि ।‘
न्यायाधीश कोइराला सल्लाह गर्ने बताउँछन्- ‘मैले सल्लाह गर्छु नि त ज्! हाम्रो गुरुज्यूसँग सोध्छु नि त! ‘
पोखरेल उक्त विषयमा सोध्न प्रधानन्यायाधीशलाई भेट्ने कि नभेट्ने भनेर प्रश्न गर्छन्– ‘प्रधानन्यायाधीशसँग टाइम लिउँ ?’ प्रधानन्यायाधिशले भन्छ कि भन्दैन भन्ने जिज्ञासा न्यायाधिश कोइरालाको हुन्छ । जवाफमा पोखरेल भन्छन्- ‘शतप्रतिशत भन्छ । १ नम्बरलाई बोलाएर भन्छ । राजुलाई बोलाएर भन्छ । राजुले तपाईंलाई भन्छ ।’
प्रधानन्यायाधीशलाई भेट्न स्वीकृति दिँदै न्यायाधीश कोइराला जवाफ दिन्छन्- ‘ल भन्नु न त । जे गरौंला गरौंला ।’
कुराकानीको बिट मार्दै पोखरेल भन्छन्- ‘ल मैले सुरु गरे है । त्यहाँबाट आएपछि हजुरले पछि हट्न पाइसिन्न नि । अरुसँग धेरै जनासँग कुरा नगरिस्यो नि फेरि । तपाईं म मात्र ।’
न्यायाधीश कोइराला हाँस्दै जवाफ फर्काउछन्- ‘पैसाको कुरा गर्दै गर्दिनँ नि !’
फेरि कुरा लम्बिन्छ र पोखरेल न्यायाधीश कोइरालालाई तरिका सिकाउँछन् – ‘अम्बिकासम्बिकासँग कुरा भयो भने त फेरि कहाँ कहाँ पुग्छ ।’ अरु न्यायाधीशसँग कुरा भयो भने दुवै जना सकिने कोइरालाको भनाइ हुन्छ- ‘तपाईं र मेरो सकिने कुरा हो नि यो त ।’
प्रतिक्रिया