नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै

नामिबियाको राजदूतमा नियुक्त


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्त्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् ।

बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । उनी हाल नेपालका लागि राजदूत हुनुअघि अमेरिकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार र श्रम ब्युरोमा उपसहायक सचिव थिए । साथै, एलजीबीटीआईहरूको मानव अधिकारका लागि विदेश मन्त्रालयको पहिलो विशेष दूतका रूपमा पनि उनले काम गरिसकेका छन् ।

उनले नेपालमा अमेरिकी राजदूतावास काठमाडौँको डेपुटी चीफ अफ मिसन, दुई पटक प्रिन्सिपल अफिसर र कन्सुल जनरल समेत भएका थिए । त्यसभन्दा पहिले अकल्याण्ड, न्यूजील्याण्डको अमेरिकी महावाणिज्य दूतावासमा र त्यसपछि नेदरल्याण्ड्सको एम्स्टर्डममा अमेरिकी महावाणिज्य दूतावासमा समेत उनले काम गरेका छन् ।

उनी आफ्नो करियरको सुरुवातमा बङ्गलादेशको ढाकामा रहेको अमेरिकी दूतावासमा र त्यसपछि इजिप्टको कायरोमा रहेको अमेरिकी दूतावासमा भाइस कन्सुलरका रूपमा समेत कार्यरत थिए ।

बेरीसँगै राष्ट्रपति बाइडेनले अन्य विभिन्न मुलुकका लागि समेत नयाँ राजदूतहरू नियुक्त गरेका छन् । उनीसँगै नेपालस्थित राजदूतावासका नियोग उपप्रमुख म्यानुअल पी मिकलर समेत ताजिकस्तानका लागि राजदूत बनेर जाने भएका छन् ।