अमेरिकी शेयर बजार पनि सीमित व्यक्तिको कब्जामा !

अमेरिकी शेयर बजार पनि सीमित व्यक्तिको कब्जामा !



धनी हुन, एलन मस्क बन्न मलाई पनि मन छ तर के गर्नु ! सुनेको, भनेको, अरे अरे, हल्ला र गलत सल्लाहका आधारमा आफू सँग भएको नगद, बैङ्कमा रहेको बचत निकाल्दै, घर धितो राखेर इक्विटी निकाल्दै र नभएकाले बैङ्क बाट लोन लिएर, क्रेडिट कार्ड बाट लोन लिएर शेयर कारोबारमा जाँदा अमेरिकामै पनि पछिल्लो १ वर्षमा धेरै नेपालीहरू नराम्ररी डुबेको खबरहरू आइरहेका छन् ।

डुबे पछि तैं चुप, मैँ चुप गर्नु भन्दा भोगेकाहरूले आफ्नो अनुभव शेयर गरेर अरू नयाँ र डुब्दै गरेकाहरूलाई बँचाउने प्रयास गरौँ । मेरो व्यक्तिगत अनुभवमा अमेरिकी शेयर बजार पनि एक प्रकारको जुवा नै लाग्यो । केही सीमित व्यक्तिहरूको कब्जा, अझ भनौँ दुई तीन प्रतिशत अमेरिकी धनवालाहरूको मुट्ठीमा देखियो अमेरिकी शेयर बजार पनि । एलन मस्कको एउटा ट्विटले तल माथि हुने शेयर बजार हामी नेपालीहरूको पहुँचमा रहेनछ भन्ने मलाई लाग्यो ।

शेयर बजार केही बुझ्दै नबुझेका नेपालीहरूले ग्रुप बनाएर गलत कुराहरू अनुमान गर्दा र गलत सल्लाह दिँदा धेरैको बिल्लिबाठ भएका खबरहरू आइरहेका छन् । कृपया राम्ररी नबुझी शेयर बजारमा नलाग्न मेरो सुझाव छ । काम गरौँ, व्यवसाय गरौँ । धन त्यति सजिलो सँग आर्जन हुने भएको भए सबैले त्यही गर्दा भइहाल्थ्यो नि, सावधानी अपनाउँ ! आगे तपाईँहरूकै जो मर्जी ।