युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने बाइडेनको घोषणा

युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने बाइडेनको घोषणा



न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् । म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नेटोलाई प्रत्येक क्षेत्र – जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ । ’

स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चार बाट ६ पु-याउने उनले बताएका छन् । त्यस्तै, पाँचौँ आर्मी कोरको स्थायी मुख्यालय पोल्याण्डमा खोल्ने र रोमानियामा ‘एडिसनल रोटसेनल ब्रिगेड’ स्थापना गर्ने उनले जानकारी दिए । अमेरिकाले जर्मनी र इटालीमा अतिरिक्त वायु रक्षा र अन्य क्षमता विस्तार गर्ने भएको छ ।

पुटिनले युक्रेनमा दुष्ट काम गरेः बेलायती प्रधानमन्त्री जोनसन
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताएका छन् । जोनसनले भने, ‘ मलाई लाग्छ पुटिनले युक्रेनमा जे गरेका छन, त्यो नराम्रो छ । ’

उनले अगाडि थपे, ‘यो निर्दोष जनताविरुद्धको अनावश्यक आक्रमणको भयावह कार्य हो । ’म्याड्रिडमा नेटो नेताहरुको बैठक भइरहेका बेला रुसी सेनाले युक्रेनमा आक्रमणलाई तीव्र बनाएको छ । रुसी सेनाले दक्षिणी माइकोलाइभ क्षेत्र र ब्ल्याक सीनजिक क्षेप्यास्त्र हमलाहरू र गोलाबारी गरेको छ ।

रुसले युक्रेनमाथि हमला सुरु गरेपछि देखि नै प्रधानमन्त्री जोनसनले युक्रेनको समर्थनमा बोल्दै आएका छन् । उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग नियमित टेलिफोन गर्नुका साथै हमलापछि मात्रै दुई पटक किभको भ्रमण गरेका छन् ।