मलेसियामा एनआरटीको अर्को लज्जास्पद हार

मलेसियामा एनआरटीको अर्को लज्जास्पद हार


ग्लोब नेपाल
135
Shares

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिमले (एनआरटी) टुवाङ याङ तेरुत (टिवाइटी) प्रतियोगिताको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ ।

प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भयो । एनआरटीलाई पराजित गरेसँगै पेनाङ ले प्रतियोगिताको उपाधि जितेको छ ।  पेनाङ सिटी रंगशालामा पेनाङलाई जित दिलाउन लुकास सिल्भाले चार गोल गरे । यस्तै, अर्को एक गोल सारावानको नाममा रह्यो । लुकासले ४३औं मिनेटमा गरेको गोलबाट पेनाङले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सारावानले पेनाङको अग्रता दोब्बर पारे ।

यस्तै, दोस्रो हाफमा लुकासले ह्याट्रिक थपेपछि पेनाङले ५–० को सहज जित निश्चित गरेको थियो । लुकासले ६८औं मिनेटमा दोस्रो, ८०औं मिनेटमा ह्याट्रिक र खेलको इन्जुरी समयमा चौथो गोल गरे ।

यसअघि बिहीबार भएको पहिलो खेलमा एनआरटी इन्डोनेसियाको लिग लु क्लबसँग पनि ५-१ ले पराजित भएको थियो ।

एनआरटी अब उतैबाट थाइल्यान्ड जाने तालिका छ । एनआरटीले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ । एनआरटी ‘ए’ डिभिजन लिगको तयारी का लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।