मादी सामूहिक हत्याकाण्डः ४ जनालाई आजीवन कारावास, नाबालकलाई १६ वर्ष कैद

मादी सामूहिक हत्याकाण्डः ४ जनालाई आजीवन कारावास, नाबालकलाई १६ वर्ष कैद


ग्लोब नेपाल
108
Shares

संखुवासभा । जिल्ला अदालत संखुवासभाले मादी सामूहिक हत्या प्रकरणमा संलग्न अभियुक्तमध्ये चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।

जिल्ला अदालत संखुवासभाले सोमबार एकै परिवारका ६ जनाको सामूहिक हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको छ । अदालतले थुनामा रहेका चार जनालाई आजीवन काराबास र २ लाख रुपैयाँका दरले क्षतिपूर्तिसमेत भराउने फैसला गरेको छ।

उक्त घटनाको हत्या आरोपमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो । पाँचै जना मृतक तेजबहादुरका नातेदार समेत हुन् ।

२०७८ भदौ २१ गते संखुवासभाको मादी नगरपालिका-१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।