एआईजी विश्वराजको मुद्दामा अदालत गम्भीर नबन्दा प्रहरी संगठनमा राजनीतिक हस्तक्षेपकाे नांगो नाँच

एआईजी विश्वराजको मुद्दामा अदालत गम्भीर नबन्दा प्रहरी संगठनमा राजनीतिक हस्तक्षेपकाे नांगो नाँच



काठमाडौं । सिनियर एआईजी विश्वराज पोखरेलको मुद्दामा सर्वोच्च अदालत गम्भीर नबन्दा प्रहरी संगठनमा राजनीतिक हस्तक्षेपले सीमा नाघेको छ । वरिष्ठता मिचेर वैशाख १८ गते सरकारले एआईजी पोखरेलभन्दा १७ महिना जुनियर धीरजप्रताप सिंहलाई आईजीपी बनाएर प्रहरी संगठनमा चरम राजनीतिक हस्तक्षेप नमुना प्रस्तुत गरेको थियो ।

प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप भएको यो पहिलो घटना होइन । फोर्समा यस्तो घटना दोहोरिनु हानिकारक छ, यसलाई अदालतले मात्र सच्चाउन सक्छ भन्ने प्रयास पटक पटक भए । सर्वोच्च अदालतले वरिष्ठता मिचिर संगठन प्रमुख नबनाउ भनेर नजिर स्थापित छ । त्यत्ति हुँदा हुँदै पनि फोर्समा राजनीतिक हस्तक्षेप रोकिएको छैन । पछिल्लो राजनीतिक हस्तक्षेपको शिकार विश्वराजलाई बनाइयो ।

यो राजनीतिक हस्तक्षेपले मलाई मात्र अन्याय गरेको छैन, दीर्घकालमा प्रहरी संगठन नै ध्वस्त बनाउँछ भनेर तत्कालै रिट निवेदन बोकेर सिनियर एआईजी पोखरेल सर्वोच्च अदालत पुगेका थिए । उक्त मुद्दा सुनवाइको क्रममा पुगेको छ, यद्यपि त्यसैबेला सरकारको गलत कदमप्रति सर्वोच्च अदालत गम्भीर बनेको भए अहिले एसएसपी बढुवामा राजनीतिक हस्तक्षेपको नांगो नाँच कसैले हेर्नु पर्दैन थियो ।

नेपाल प्रहरीमा यतिबेला ३२ वटा एसएसपी पद रिक्त छ । आफूनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले नियमावलीको गलत व्याख्या गरेर हस्तक्षेप गर्न थालेका छन् । जसले गर्दा काबिल र क्षमतावान प्रहरी अधिकृतलाई निराश बनाएको छ भने ब्रिफकेस बोकेर नेताको दैलो चाहर्ने उत्साहित छन् ।

वरिष्ठता मिचेर आईजीपी बनाइएका धीरजप्रतापले नै एसपीहरुलाई एसएसपी बन्ने बाटो देखाउने गरेका छन् । उनले देखाउने बाटो भनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार र बालुवाटारमा प्रधानमन्त्री पत्नी आरजु देउवालाई ब्रिफकेश बोकेर भेट्नु हो । केही एसपीहरू खुमलटार र बालुवाटार पुगिसकेको समाचारस्रोतको दाबी छ ।

प्रहरी प्रधान कार्यालय राष्ट्रिय अनुसन्धान विभागमा स्थान्तरण भएर आएका र २०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीको बढुवा हुँदैछ । विभागमा ५ पुस २०५३ मा भर्ना भएका प्रहरी निरीक्षकलाई २५ पुस २०५८ मा नेपाल प्रहरीमा स्थान्तरण गरिएको थियो । त्यस टोलीमा बाँकी रहेका र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकालाई तानेर एसएसपीमा बढुवा गर्ने तयारी भइरहेको छ ।

गृह स्रोतका अनुसार २०५६ मा प्रहरी निरीक्षक बनेकाहरू पनि अहिले २०५३ र २०५४ को ब्याचलाई उछिनेर एसएसपी बन्ने दौडमा ब्रिफकेश बोकेर खुमलटार र बालुवाटार पुगिसकेका बताइएको छ । उनीहरू वरीयताक्रम र ज्येष्ठताका आधारमा नभई कार्यसम्पादन हेरेर बढुवा हुनुपर्ने एकसूत्रीय माग राखेर लबिङमा जुटेका छन् ।

कोको छन् दौडमा ?
२०५६ सालमा प्रहरी निरीक्षक भएर हाल एसपी रहेका विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, सोमेन्द्रसिंह राठौर, सविन प्रधान, दिनेशराज मैनाली, भूपेन्द्रबहादुर खत्रीलगायतले एसएसपी हुन जोडबल गरिरहेका छन् ।

उनीहरूले राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरू कार्यसम्पादनमा कमजोर रहेको भन्दै बढुवामा आफूहरू पर्नुपर्ने भन्दै आइरहेका छन् ।

एसपी खत्रीले जसरी पनि बढुवामा समेट्न कांग्रेस उपसभापति पूर्णबहादुर खड्कामार्फत लबिङ गर्दै आइरहेको बुझिएको छ । यस्तै, राठौरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत लबिङ गरिरहेका छन् । यस्तै, भट्टराईसहितका केही एसपी बालुवाटारबाटै दबाब सिर्जना गर्न लागि परेका छन् ।

राष्ट्रिय अनुसन्धानबाट आएकामध्ये सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेत एसएसपी बढुवाका स्वभाविक दाबेदार हुन् ।

२०५४ सालमा प्रहरी निरीक्षक भएका टोलीबाट राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे पनि प्रतिस्पर्धी हुन् ।

यसैगरी, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलिपसिंह देउवा, सञ्जिव शर्मा दास पनि प्रतिस्पर्धी हुन् । यीमध्ये मनोज, विनोद, जयराम, शारदाप्रसाद, लोकेन्द्र, रामेश्वर, दिलिपसिंह र सञ्जिव पनि राअविबाटै स्थानान्तरण भएका अधिकृत हुन् ।

यसैगरी, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा बर्खास्त भएर पुनर्वहाली भएका डिल्लीराज विष्ट पनि बढुवाका प्रतिस्पर्धी हुन् । उनका ब्याचका सबै एसएसपी भइसकेका छन् । पुरानो ब्याचका गणेश चन्द पनि बढुवाका आकांक्षी हुन् ।