क्वहोलासोथरका २१ घर पहिरोको उच्च जोखिममा

क्वहोलासोथरका २१ घर पहिरोको उच्च जोखिममा


ग्लोब नेपाल
27
Shares

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोलको २१ घर पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जमिनमा बस्ती रहेकाले जोखिममा परेको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । ‘दक्ष प्राविधिक ल्याएर पहिरोको थप अनुसन्धान गरेर रोकथाम गर्नुपर्नेछ,’ उनले भने । दैनिकजसो पानी परिरहँदा स्थानीयहरू भने त्रसित हुने गरेका छन् । उक्त टोलमा १५० भन्दा बढी स्थानीय पहिरोले घर पुर्छ कि भन्ने चिन्तामा छन् ।

क्वहोलासोथर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मनलाल गुरुङले भने, ‘१५ असारमा ठूलो वर्षापछि पहिरो गएको थियो। सोपश्चात् पटकपटक थप पहिरो जाँदा बस्ती नजिकै पहिरो आइपुग्दा सिंगा बस्ती जोखिममा परेको छ ।

निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका जग्गासमेत सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरो जाने सक्ने सम्भावना छ ।’ पहिराले बस्ती जोखिम बनाएकोबारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।