सुदूरपश्चिममा बजेट संशोधन नभए समर्थन नगर्ने कांग्रेस संसदीय दलको निर्णय

सुदूरपश्चिममा बजेट संशोधन नभए समर्थन नगर्ने कांग्रेस संसदीय दलको निर्णय


ग्लोब नेपाल
135
Shares

धनगढी । सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।

शनिबार बसेको कांग्रेसको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नभए पारित गर्न साथ दिन नसकिने निर्णय गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले जानकारी दिए । सत्ता पक्ष र प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुले बजेट संशोधनको माग गरिरहेका बेला कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक खड्काले बताए ।

उनका अनुसार बैठकले गरेको बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराइनेछ । संसदीय दलको बैठकमा सामाजिक विकास मन्त्री समेत रहेका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, डिल्लीराज पन्त, श्यामलाल रानाथारु सहितका ७ जना प्रदेशसभा सदस्य सहभागी थिए ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकशबहादुर रावलले गत १ असारमा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टिका कारण अहिलेसम्म छलफल हुन सकेको छैन ।