प्रस्तावित नागरिकता विधेयक पारित भए ११ लाखले नागरिकता प्राप्त गर्ने : एफडब्लूएलडी

प्रस्तावित नागरिकता विधेयक पारित भए ११ लाखले नागरिकता प्राप्त गर्ने : एफडब्लूएलडी


ग्लोब नेपाल
0
Shares

काठमाडाैं । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता एन संसोधन विधेयक जस्ताको तस्तै पारित हुँदा करिब ११ लाख नागरिकताविहीन नागरिकले नागरिकता पाउने दाबी गरिएको छ ।

महिला कानुन विकास मन्च (एफडब्लूएलडी)ले गरेकाे अध्ययनले साे दाबी गरेकाे हाे । एफडब्लूएलडीका कार्यकारी निर्देशक सविना श्रेष्ठका अनुसार एफडब्लूएलडीले आएको नागरिकता विधेयकका प्रावधान र नागरिकताविहीनहरूकाे समस्या केलाएर अध्ययन गर्दा करिब ११ लाख नागरिकताविहीनले नागरिकता प्राप्त गर्न सक्ने देखिएको छ ।

जन्मको आधारमा नागरिकता लिएकाको सन्तानहरूमध्ये पाँच लाख बढी नागरिकता लिन योग्य रहेको, तर कानुन अभावमा नागरिकता लिन नपाइरहेको तथ्यांक एफडब्लूएलडीको अध्ययनमा छ । आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजारभन्दा बढी रहेको पनि एफडब्लूएलडीको तथ्यांक छ ।

जस्ताको तस्तै पारित भए करिब ११ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान छ । “सरकारले फास्ट ट्र्याकमा नागरिकता विधेयक पारित गरे थप ११ लाख नागरिकले मताधिकार प्रयोग गर्न सक्छन्,’ एफडब्लूएलडीका कार्यकारी निर्देशक श्रेष्ठले भने ।