काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १ हजार थान पेस्तोल सहितका हतियार खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले स्थानीय तह निर्वाचन अघि नै ८० करोड भन्दा बढीको हतियार खरिद प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई अनुमति दिएको थियो ।
हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोड भन्दा बढी बजेट निकासा दिएको छ । इटलीको कम्पनीबाट हतियार र गोलीगठ्ठा खरिद गर्न राष्ट्र बैङ्कबाट एलसी खोल्ने प्रक्रिया अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले इटालियन कम्पनीको बेरेटा पेस्तोल १ हजार थान, अश्रुग्याँस सेल २५ हजार थान, सटगन १ हजार १५० थान, रबर गोली १० लाख थान र ५ लाख थान पेस्तोलको गोली खरिद गर्न लागेको छ ।
सुरक्षा सामरिक तथा प्रतिरक्षा कार्यविधि–०७५ अनुसार आर्थिक वर्षको सुरुमा सूचीकरण भएका फर्मले मात्रै हतियार खरिदको ठेक्का पाउँछन् । भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद गर्न लागिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए ।
प्रहरीले अहिले किन्न लागेको सटगन, अश्रुग्याँस सेल र रबर बुलेट भिड नियन्त्रणमा प्रयोग गरिन्छ । सटगन रबर बुलेट हान्न प्रयोग गरिन्छ । स्थानीय तह निर्वाचनमा प्रहरीले नेपाली सेनासँग ८ सय पेस्तोल ‘सापटी’ लिएको थियो । गस्तीमा जाँदा र हरेक चौकीका कमाण्डरका लागि पेस्तोल अभाव भएपछि १ हजार थान बेरेटा किन्न लागिएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले बताएका छन् ।
प्रतिक्रिया