अनलाइन माध्यमबाट मतदाता नामावली सङ्कलन सुरु

अनलाइन माध्यमबाट मतदाता नामावली सङ्कलन सुरु


ग्लोब नेपाल
189
Shares

काठमाडौं । निर्वाचन आयोगले अनलाइन माध्यमबाट मतदाता नामावली सङ्कलन सुरु गरेको छ । काठमाडौंका उपत्यकाका जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालयमा निकै चाप बढ्न थालेपछि आयोगले हिजोदेखि अनलाइन माध्यमबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको हो ।

हाल राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने काम भइरहेकाले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा भीडभाड बढ्दा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेको छ । फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै आवेदन पेस गर्न सक्नेछन् ।

त्यसपछि अनलाइन फारममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नुपर्ने आयोगका प्रवक्ता पौडेलले बताए । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी आयोगले असार १ गतेदेखि मतदाता नामावली सङ्कलन शुरू गरेको थियो ।