रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्न नेपाल र चीन सहमत

रसुवागढी-केरुङ नाका दुईतर्फी सञ्चालन गर्न नेपाल र चीन सहमत


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमत भएका छन् । नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकमा चीन स्वास्थ्य मापदण्ड पालना गर्दै सो नाकाबाट सामग्रीहरु आयात निर्यात गर्न सहमत भएको हो ।

चीनले कोभिड–१९ का कारण सुरुमा सो नाका बन्द गरेको थियो । केही समयपछि नाका खोले पनि चीनले एकतर्फीरुपमा नेपालमा सीमित मात्रामा सामग्री पठाउँदै आइरहेको छ ।

बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाल र चीनबीच व्यापार सञ्चालनका लागि महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ ।

भर्चुअलरुपमा हिजो भएको सीमासम्बन्धी परामर्श बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व विदेश मन्त्रालयको सीमा तथा समुन्द्र सम्बन्धि मामिला विभाग महानिर्देशक होङ लियाङले गरेका थिए ।

यस्तै, दुवै पक्षबीच हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।