भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

निगम भन्छ घटाउन मिल्दैन !


ग्लोब नेपाल
837
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरूप लाभ नमिल्ने भएको छ । आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले सोनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगमका एक अधिकारीले बताएका छन् । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैङ्क र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रतिब्यारेल १२० डलरभन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै घट्ने अमेरिकी बहुराष्ट्रिय सीटी ग्रुपको प्रक्षेपण छ । सो ग्रुपले कच्चा तेलको मूल्य २०२२ को अन्त्यसम्म घटेर ६५ डलरसम्म झर्न सक्ने अनुमान गरेको छ ।