सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण र लाभग्राहीहरुको सूचीकरण गर्न विभागको परिपत्र

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण र लाभग्राहीहरुको सूचीकरण गर्न विभागको परिपत्र


ग्लोब नेपाल
162
Shares

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण र नयाँ लाभग्राहीहरुको सूचीकरण प्रक्रिया अगाडि बढाउन ७५३ वटै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।

गृहमन्त्रालयका सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई अवगतार्थ: गरिएको एक परिपत्र जारी गर्दै विभागले सामाजिक सुरक्षा भत्ता समेत त्रैमासिक रुपमा बितरण गर्नु पर्ने भएकोले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ताको फवार्ड फिड (लाभग्राही सूची) तयार गरी सम्बन्धित बैंकमा पठाउनु अगावै परिचयपत्र नवीकरण गर्न सबै स्थानीय तहलाई आग्रह गरेको हो ।

‘…सोही सम्बन्धमा, ‘आर्थिक कार्यविधि तथा बित्तीय उत्तरदायित्व नियमावली, २०७७’ को नियम (१६) को उपनियम (१२) बमोजिम आ.व २०७८/७९ देखि नेपाल सरकारले त्रैमासिक बजेट निकासाको व्यवस्था गरेको हुँदा सामाजिक सुरक्षा भत्ता समेत त्रैमासिक रुपमा वितरण गर्नु पर्ने भएकोले चालु आ.व को पहिलो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ताको फवार्ड फिड (लाभग्राही सूची) तयार गरी सम्बन्धित बैंकमा पठाउनु अगावै परिचयपत्र नवीकरण गरिसक्नु पर्ने भएको छ। तसर्थ सबै लाभग्राहीहरुको सकेसम्म चाँडै नवीकरण गरी पहिलो त्रैमासिक निकासाबाटै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सुनिश्चितता गर्न आवश्यक व्यवस्थाको लागि अनुरोध छ’, विभागले स्थानीय तहलाई पठाएकाे पत्रमा भनिएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेमा ६८ वर्ष उमेर पुरा भएकालाई जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दिने उल्लेख भएको भन्दै विभागले त्यस्ता लाभग्राहीहरुको निवेदन प्राप्त गरी लाभग्राही सूचीकरण प्रक्रिया अगाडि बढाउन पनि स्थानीय तहहरुलाई भनेको छ ।

विभागले स्थानीय तहलाई पठाएको पत्रमा भनिएको छ, ‘नेपाल सरकारको आ।ब २०७९/८० को बजेट बक्तब्यमा ६८ वर्ष उमेर पुरा भएकालाई जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दिने उल्लेख भएको र सोही बमोजिम हुनेगरी सामाजिक सुरक्षा ऐन, २०७५ मा संशोधन समेत भईसकेकोले ऐ. ऐन, २०७५ को दफा (१२) र सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम (५) बमोजिम त्यस्ता लाभग्राहीहरुको निवेदन प्राप्त गरी लाभग्राही सूचीकरण प्रक्रिया अगाडि बढाउनु हुन निर्णयानुसार अनुरोध छ।’