जनार्दन शर्मा प्रकरण: संसदीय छानबिन विशेष समितिले म्याद थपको माग गर्ने

जनार्दन शर्मा प्रकरण: संसदीय छानबिन विशेष समितिले म्याद थपको माग गर्ने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन गठित संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग गरेको छ।

समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटासँग म्याद थपको विषयमा छलफल गर्ने जानकारी दिए । ‘हामीले म्याद थपका लागि सभामुखसँग आग्रह गर्ने भएका छौँ’, कर्णले भने, ‘कति दिन भन्ने विषयमा सभामुखको सभामार्फत् जानकारी दिनु होला।’

समितिका सदस्यहरुले बुधबार पूर्वअर्थसचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग छलफल गरेका थिए । १० दिनको म्यादसहित असार २२ मा गठन भएको समितिको म्याद बिहीबार सकिँदैछ । तर, समितिले समय सीमाभित्र छानबिन नसकिएकाले समय थप गर्ने तयारी गरेको हो । समितिले बिहीबार पूर्वअर्थमन्त्री शर्मासँग बयान लिने तयारी गरेको छ ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको आरोप लागेपछि सभामुख सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका थिए । त्यसैदिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

हालसम्म समितिले अर्थमन्त्रालय पुगेर घटनाको बारेमा जानकारी लिएको थियो । समितिले अर्थ मन्त्रालयमा प्राप्त सीसीटीभी फुटेज रिकभरीका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसैगरी बजेट निर्माण कार्यमा संलग्न रहेका अर्थमन्त्रालयका अधिकारीहरुसँग जेठ १४ गतेको घटनाको बारेमा जानकारी लिएको थियो ।