एशियाली खेलकुदको स्वर्ण विजेतालाई ३२ लाख ५० हजार

एशियाली खेलकुदको स्वर्ण विजेतालाई ३२ लाख ५० हजार


ग्लोब नेपाल
162
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले चीनको हाङझाउमा आयोजना हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई रु ३२ लाख ५० हजार प्रदान गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपद्वारा आयोजित कार्यक्रममा उनले राष्ट्रका लागि पसिना बगाउने खेलाडीका लागि पुरस्कारस्वरूप उक्त रकम प्रदान गरिने बताए ।

मन्त्री गहतराजले उक्त प्रतियोगितामा रजत जित्ने खेलाडीलाई रु १९ लाख ५० हजार र कास्यपदक जित्नेलाई रु १३ लाख प्रदान गर्ने जानकारी दिए । एशियाली खेलकुद प्रतियोगिता आगामी २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तरिखसम्म हुने तय भएको छ । यसैगरी मन्त्री गहतराजले उक्त प्रतियोगिता तयारीमा केही कमी नरहने भन्दै खेलाडी प्रशिक्षणका लागि थप आवश्यक रकम विनियोजन गर्न पछि नहट्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १९औँ एशियाली खेलकुद प्रतियोगिता तयारीका लागि आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।

यसैगरी राखेप सदस्य सचिव टङ्कलाल घिसिङले एशियाली खेलकुद प्रतियोगिता तयारीका लागि खेलाडीले निकै मेहनत गरिरहेको भन्दै उक्त प्रतियोगिताका लागि सरकारले रु १० करोड बजेट छुट्याएको बताए । एशियाली खेलकुद प्रतियोगिताको पहिलो चरणको ४० दिनको प्रशिक्षण सम्पन्न भएको छ । अबको केही दिनपछि दोस्रो चरणको प्रशिक्षण सुरु गर्ने राखेपले जनाएको छ ।