एनआईसी एसिया बैंकको नाफा साढे ४ अर्ब नाघ्यो

एनआईसी एसिया बैंकको नाफा साढे ४ अर्ब नाघ्यो


ग्लोब नेपाल
216
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५३ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ३८.८६ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा पनि उल्लेख्य सुधार भएको छ । प्राथमिक पुँजीको नपुग्दा आब २०७७/०७८ को मुनाफाबाट लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाउँदा बैंकको गत आबमा चुक्ता पुँजी बढेको छैन । जसले गर्दा नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी उल्लेख्य रुपमा बढेको छ । अघिल्लो आबमा २८ रुपैयाँ १८ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा बढेर ३९ रुपैयाँ १३ पैसा पुगेको छ ।

यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७६ पैसाबाट बढेर २१७ रुपैयाँ ५२ पैसा पुगेको छ । गत आर्थिक वर्षमा बैंकको व्यवसाय विस्तार नुहुँदा पनि कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) बढाउँदा खुद ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि भएको हो ।

अघिल्लो आमा ३.७३ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर गत आबमा ४.४ पुगेको छ । जसले गर्दा बैंकको खुद ब्याज आम्दानी नै बढेको हो । गत आबमा बैंकको निक्षेप दुई खर्ब ८७ अर्ब दुई करोड ४८ लाखबाट एक प्रतिशतले २ खर्ब ८९ अर्ब ९० करोड ४० लाखबाट पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब ४८ अर्ब ७७ करोड ४ बाट १.४८ प्रतिशतले बढेर दुई खर्ब ५२ अर्ब ४४ करोड ३५ लाख पुगेको छ ।

तर, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आबमा ९ अर्ब २२ करोड ७५ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आबमा ११ अर्ब ७७ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको छ ।

यता बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने घटाएको छ । अघिल्लो आबमा एक अर्ब २२ करोड ५६ लाख प्रोभिजन गरेको बैंकले गत आबमा ८७ करोड दुई लाख मात्रै प्रोभिजन गरेको छ ।

गत आबमा खुद ब्याज आम्दानी सँगै अन्य आम्दानी पनि बढेको बैंकको प्रोजिभन घटेको छ । जसले गर्दा खर्च उल्लेख्य रुपमा बढे पनि बैंकको सञ्चालन मुनाफा बढेको छ ।

बैंकको सञ्चालन मुनाफा ३३.५९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ४० करोड ९९ लाख पुगेको छ । बैंकको अघिल्लो आबमा ४ अर्ब ७९ करोड ८२ लाख पुगेको छ । ११ अर्ब ५६ करोड ४० लाख चुक्ता पुँजी रहेको कम्पनीको सेयरधनी सञ्चित कोषमा चार अर्ब ५४ करोड १७ लाख र जगेडाकोषमा १० अर्ब ८८ लाख रहेको छ ।

असार मसान्तमा बैंकको मूल्य आम्दानी अनुपात १७.७९ गुणा रहेको छ । यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ६.८४ प्रतिशतबाट बढेर ९.२५ प्रतिशत पुगेको छ । निष्कृय कर्जा ०.५ प्रतिशतबाट ०.४९ प्रतिशतमा झरेको छ । यस्तै पुँजीकोष अनुपात १२.४७ प्रतिशतबाट बढेर १३.५१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षका बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

बैंकको मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्ग सेवा रहेको छ।