संसदीय छानबिन विशेष समितिले जनार्दन शर्मासँग लियो ३ घण्टा बयान

संसदीय छानबिन विशेष समितिले जनार्दन शर्मासँग लियो ३ घण्टा बयान


ग्लोब नेपाल
351
Shares

काठमाडौं । संसदीय छानबिन विशेष समितिमा पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग ३ घण्टा बयान लिएको छ ।

बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म समितिले पूर्वअर्थमन्त्री शर्मासँग बयान लिएको हो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा शर्मासँग संसदीय विशेष छानबिन समितिले बयान लिएको हो । संघीय संसद् सचिवालयमा बयानपछि बाहिरिने क्रममा शर्माले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै समितिले सोधेको जवाफ दिएको बताए । उनले भने, ‘उहाँहरूले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरूले भन्नुहुनेछ।’

समितिका एक सदस्यका अनुसार बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए। बयानका क्रममा शर्माले भनेका छन्, ‘बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन, पसेको भए थाहा भइहाल्थ्यो नि । त्यहाँ सुरक्षाकर्मी हुन्छन् । सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ ? के हुन्छ त्यो बारे मलाइ केही जानकारी हुँदैन ।’

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति घुसपैठ गरेर करको दायरा हेरफेर गरेको आरोपपछि शर्मामाथि छानबिनका लागि समिति बनाइएको थियो । शर्माले अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् । समितिले अहिले बजेट निर्माणसँग सम्बद्ध सरोकारवालासँग बयान लिने क्रममा आज शर्मासँग बयान पनि बयान लिएको हो ।