एसपीपीको नाम फेरेर सम्झौता गर्ने प्रयासहरु भइरहेका छनः देव गुरुङ

एसपीपीको नाम फेरेर सम्झौता गर्ने प्रयासहरु भइरहेका छनः देव गुरुङ


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले एसपीपीको विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका गुरुङले सरकारले निर्णय गरिसकेपछि परराष्ट्रले पत्राचार गर्न आनाकानी गर्नु सन्देहास्पद रहेको बताए । गुरुङले परराष्ट्र प्रवक्ता सेवा लम्सालको अभिव्यक्तिमा आपत्ति जनाएका थिए ।

लम्सालले अमेरिकालाई तत्काल पत्राचार गर्न सकिँदैन भनेर दिएको अभिव्यक्ति मन्त्रीपरिषद्को निर्णयविपरीत रहेको उनको भनाइ छ ।उनले भने, ‘यो मन्त्रिपरिषद्को निर्णय विपरीत भयो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने दायित्व मन्त्रालयहरुको हो, तर परराष्ट्रले कार्यान्वयन गरिरहेको छैन । अविलम्ब पत्राचार गर्न भनेर सभामुखबाट रुलिङ होस् ।’

उनले एसपीपी गर्न नसके यसको नाम फेरेर अन्तरवस्तु उही हुने गरी सम्झौता गर्ने प्रयास भइरहेको पनि दाबी गरे । ‘त्यही कन्टेन्ट राखेर म्युचुअल डिफेन्स ट्रिटी, स्ट्राटिजिक डिफेन्स प्याक्ट, त्यो भएन भने एमसीसीमा टेकेर स्टाटस अफ फोर्स एग्रिमेन्ट (सोफा) गर्ने प्रयासहरू भइरहेको छ । यी पनि हुन सकेन भने पिस कोअपरेसन एग्रिमेन्टको नामबाट सैन्य सम्झौतासम्बन्धी कन्टेन्टमा हस्ताक्षर गर्ने तयारी छ’, गुरुङले भने, ‘जसरी भए पनि नेपाललाई आईपीएसको पार्ट बनाउने र अमेरिकाको नेसनल गार्डसँग सैन्य सम्झौता गर्ने तयारी भित्रभित्र चलिरहेको छ । यो गम्भीर विषय भएको हुनाले सरकारले गम्भीरतापूर्वक लिनुपर्छ।’

गुरुङले एमसीसीका विषयमा संसदबाट पारित १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकालाई पत्राचार नगरेकोमा पनि असन्तुष्टि जनाए ।