एसपीपीसम्बन्धी पत्राचारबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

एसपीपीसम्बन्धी पत्राचारबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्‌लाई जानकारी दिन रुलिङ गरेका छन् ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षका सांसदहरूले बारम्बार उक्त विषय संसद्‌मा उठाएपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख सापकोटाले मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्‌लाई जानकारी हुनुपर्ने भन्दै रुलिङ गरेका हुन् ।

‘माननीय सदस्यहरुले उठाउनुभएको एसपीपीका सम्वन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्वन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाका बारेमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु’, सभामुख सापकोटाले भनेका थिए ।

एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको अवस्थामा पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरेको भन्दै सांसदहरूले आवाज उठाएका थिए । उनीहरूले सभामुखबाट रुलिङ हुनुपर्ने माग गरेका थिए ।

नेकपा एमालेका सांसद भीम रावलसहित एकीकृत समाजवादीका सांसद झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले पनि रुलिङ हुनुपर्ने आवाज उठाएपछि सभामुख सहमत भएका हुन् ।