प्रेस युनियनको महाधिवेशन हेटौंडामा सुरु, प्रधानमन्त्रीसहित कांग्रेस शीर्ष नेता सहभागि

प्रेस युनियनको महाधिवेशन हेटौंडामा सुरु, प्रधानमन्त्रीसहित कांग्रेस शीर्ष नेता सहभागि


ग्लोब नेपाल
837
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ ।

हेटौँडास्थित रोयल पार्टी प्यालेसमा सुरू भएको महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । महाधिवेशनको जारी उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेतासमेत पुगेका छन् । उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा कार्यक्रमका अतिथिको रूपमा सहभागी भएका हुन् ।

करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

आजको उदघाटन समारोहपछि सुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुने वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

महाधिवेशनमा भाग लिनका लागि देशभरबाट आएका १६३० प्रतिनिधिले आगामी तीन वर्षका लागि युनियनको नयाँ नेतृत्व चयन गर्नेछन् ।