श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । सत्तारुढ दल श्रीलंका पोदुजना पेरामुना (एसएलपीपी) का सांसद दिनेश गुणावर्धने श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामापश्चात राजपाक्षे परिवारकै निकट व्यक्तिलाई नै प्रधानमन्त्री नियुक्त गर्न लागिएको भन्दै चर्को आलोचना भइरहेको बेला गुणावर्धनेलाई प्रधानमन्त्री नियुक्त गरिएको हो । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले दिनेशलाई प्रधानमन्त्रीलाई नियुक्त गरेका छन् ।

गुणावर्धनेले शुक्रबार नै प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । ७३ वर्षीय गुणावर्धनेले यसअघि विदेश, गृह र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । गत अप्रिलमा उनलाई तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले गृहमन्त्रीमा नियुक्त गरेका थिए।

यसअघि बिहीबार नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघले शपथ लिएका थिए । उनको शपथसँगै श्रीलंकाली सेना र प्रहरीले सरकारविरोधी प्रदर्शन दबाउन थालेको छ । राष्ट्रपति कार्यालय सेनाले नियन्त्रणमा लिइसकेको छ भने प्रदर्शनकारीका टेन्टहरू भत्काइदिएको छ। हप्तौँ लामो प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष मुलुक छाडेर भागेका थिए । त्यसपछि संसद्‍मा भएको निर्वाचनमा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।