लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ: प्रधानमन्त्री देउवा

लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ: प्रधानमन्त्री देउवा


ग्लोब नेपाल
135
Shares

हेटौंडा । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको बताएका छ्न् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेसनलाई बागमती प्रदेशको राजधानी हेटौँडामा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वतन्त्रताको नाममा पत्रकारले उत्तरदायित्व भुल्न नहुने बताए । उद्घाटन समारोहमा छोटो भाषण गरेका देउवाले भने, ‘पत्रकारिता क्षेत्र अब नयाँ प्रविधिमा चल्नुपर्छ । जिम्मेवार तथा आधुनिक पत्रकारिता आजको आवश्यकता हो ।’

देउवाले पछिल्लो समय नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा बताए । ‘राजनीतिक स्थायित्वको विषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यक छ । परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको छ,’ देउवाले भने ।

कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण रहेको उनले स्मरण गरे । देउवाले भने, ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ ।’ उनले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।

नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रूपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रूपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजार जना हेटौंडामा भेला भएका छन् । 

करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।