अब आगामी निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ: प्रचण्ड

अब आगामी निर्वाचनपछि देशको नेतृत्व माओवादीले गर्छ: प्रचण्ड


ग्लोब नेपाल
513
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्वको नेकपा माआवादी केन्द्रले गर्ने दावि गरेका हुन् ।

उनले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने पनि उद्घोष गरे । ‘यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन’, प्रचण्डले भने,’आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन ।’

माओवादी पुनः एकपटक पुनस्स्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनः स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने उनको भनाइ छ । ‘हाम्रै जोडबलमा आज नागरिकताबारे निर्णय हुँदैछ । आन्दोलनमा खेलेको भूमिकालाई कतै कमजोर हुन दिने छैन । नेपालमा विभेदमा भएका, पछि परेका वर्ग, समुदायको उत्थानका लागि नै माओवादीको आन्दोलन सुरु भएको हो । कहीँ न कहीँ एउटा निकै ठूलो डिजाइनअन्तर्गत माओवादीको बारेमा भ्रम छर्ने कुचेष्टा गरियो’, अध्यक्ष प्रचण्डले भने, ‘माओवादीको आन्दोलनलाई कतै म कमी आउन दिनेछैन । पार्टी प्रवेश कार्यक्रमले सिंगो देश र मधेसमा बलियो सन्देश प्रवाहित भएको छ ।’

प्रचण्डले माओवादीकै जोडबलमा शुक्रबार संघीय संसद्‍बाट नागरिकताबारे निर्णय हुन लागेको पनि दावि गरे ।