कम्युनिष्टका लागि राणाशासन र कांग्रेसको शासनमा केही फरक छैन: ओली

कम्युनिष्टका लागि राणाशासन र कांग्रेसको शासनमा केही फरक छैन: ओली


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टका लागि राणाशासन र नेपाली कांग्रेसको शासनमा केही फरक नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रर्वप्रधानमन्त्री समेत रहेका ओलीले राणाशासनमा भन्दा पनि कांग्रेसको शासनका बेलामा कम्युनिष्टमाथि प्रतिबन्ध लगाइएको बताए ।

‘मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि उनले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाए,’ ओलीले भने, ‘०८ सालमा उनी प्रधानमन्त्री भएपछि लागेको प्रतिबन्ध ४ वर्षभन्दा बढी लाग्यो। राणाशासन भन्दा कांग्रेसको शासन कम्युनिष्टलाई केही फरक भएन।’

कांग्रेसले राजनीतिक स्वार्थका लागि आफ्नै पार्टीबाट बलिदान गरेका व्यक्तिलाई पनि शहीद नमानेको बताउँदै ओलीले भीम दत्तको नामै लिन नचाहने बताए । ओलीले भने, ‘भीमदत्त पन्तलाई कांग्रेसले शहीद मानेन । कांग्रेसले नै टाउको कटाएको हो । कांग्रेसलाई भीमदत्तको नाम लिंदा सिरिङ्ग हुन्छ ।’

अध्यक्ष ओलीले पुष्पलालमाथि शासकहरुले मात्र नभई आफ्नै साथीहरुले पनि ज्यादती गरेको दाबी गरे । पुष्पलाललाई महासचिवबाट षडयन्त्रपूर्वक तरिकामा हटाएर कम्युनिष्ट आन्दोलन नै कमजोर पार्ने काम भएको उनले बताए।

पुष्पलालविरुद्ध सम्भ्रान्त परिवारका ठिटाहरुले ज्यादती गरेको ओलीको भनाइ छ। ‘पुष्पलालमाथि अरु शासकले त ज्यादती गर्थे गर्थे आफ्नै साथीहरुले पनि ज्यादती गरे र पुष्पलालविरुद्ध अरु सम्भ्रान्त ठिटाहरुले पार्टी कब्जा गर्ने नीति लिए,’ ओलीले भने, ‘पुष्पलाललाई महासचिवबाट हटाए। पुष्पलालले किन पार्टी खोलेको थिए, कसरी अघि बढाउन खोजेका थिए, त्यो कुरालाई समेत ख्याल नगरी काम गर्न दिइएन।’

०७ सालको आन्दोलन सफल हुने बित्तिकै र पार्टी खुला हुनेबित्तिकै पुष्पलाललाई पार्टीबाट हटाउन सुरु गरिएको उनले बताए।