अब गठबन्धनको डम्फु बजाउने होइन, आफैं बलियो हुने होः माधव नेपाल

अब गठबन्धनको डम्फु बजाउने होइन, आफैं बलियो हुने होः माधव नेपाल


ग्लोब नेपाल
27
Shares

काठमाडौं । सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने चेतावनी दिएका छन्।

शनिबार पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै गठबन्धनको डम्फूमात्र नबजाउन पनि आग्रह गरे । ‘सम्भवत मंसिर महिनाको पहिलो हप्तामा चुनावको घोषणा हुनेछ । अब कति दिन हामीले गठबन्धनको डम्फू बजाएर बस्ने ? अब डम्फू बजाउने होइन । यो पार्टीलाई बलियो बनाउने डम्फु बजाउने । यो पार्टीलाई सुदृढ बनाउने कुरा गर्ने हो’ उनले भने ।

नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाटै २० देखि २५ सिट जित्ने दावी गरेका छन् । स्थानीय तह निर्वाचनमा २८ प्रतिशत पालिकामा उम्मेदवारी दिँदा पनि ९ लाख २७ हजार मत आएको भन्दै अध्यक्ष नेपालले देशभर उम्मेदवारी दिए २० देखि २५ लाख मत ल्याउन सकिने बताए ।

‘हामीले उठाएका उम्मेदवार जम्मा करिव २८ प्रतिशत थिए । तर हामीले भोट कति ल्यायौं थाहा छ ? नौ लाख २७ हजार । सबै ठाउँमा हामीले उम्मेदवार खडा गरेको भए २० देखि २५ लाख भोट पाउथ्यौं होला’, अध्यक्ष नेपालले भने, ‘२० देखि २५ लाख भोट पाएपछि २० देखि २५ सिट त हामीलाई कसैले पनि रोक्न सक्दैन नि समानुपातिकबाट । भनेपछि हाम्रो पार्टी कमजोर छैन ।’