झापा । झापाको कचनकवल गाउँपालिका-५ पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको हो ।
तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । पारिवारिक श्रोतका अनुसार तीनै जना शनिबार दिउँसो घुम्न भनी घरबाट हिँडेका थिए । आफैंले काम गर्ने बगानमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् । दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएकाे छ । घटनास्थल नेपाल-भारत सीमा क्षेत्रमा पर्छ ।
प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । ‘सामूहिक आत्महत्या’ हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रतिक्रिया