२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी 

२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी 


ग्लोब नेपाल
540
Shares

काठमाडौं । सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने जनाएको छ । कोभिड-१९ को प्रभाव कम भएसँगै विस्तारै सुध्रँदै गएको विश्व पर्यटन बजारबाट पुनः पर्यटन आकर्षित गर्न सकिने भन्दै मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई भ्रमण वर्षको रुपमा अघि बढाउन सकिने बताएको हो । आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ ।

मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ । काठमाडौंमा ‘hop on hop off city bus’ आगामी तीन महिनाभित्र संचालनमा ल्याउने घोषणासमेत मन्त्रालयले गरेको छ।

प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषण समेत मन्त्रालयले गरेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा ‘रिकोभरी प्लान’ ल्याउने निर्णय गरेका थिए । सोही अनुसार आइतबार मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र संचालन हुने समेत मन्त्रालयले जनाएको छ।