भीम रावलको प्रश्न: सरकार कहाँ छ, यो देशमा छ कि अन्तै ?

भीम रावलको प्रश्न: सरकार कहाँ छ, यो देशमा छ कि अन्तै ?


ग्लोब नेपाल
405
Shares

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अहिलेसम्म पनि सरकारले एसपीपी अस्वीकृत गरेको पत्र अमेरिकी सरकारलाई नपठाएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वगुहमन्त्री समेत रहेका सांसद रावलले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राम (एसपीपी) बारे संसद र संसदीय समितिको सर्कुलरलाई सरकारले सुनेपनि नसुनेझै गरेको भन्दै आपत्ती जनाए। ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) को सम्बन्धमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ ? भनेर यो सम्मानित सदनलाई जानकारी गराउन सम्माननीय सभामुखज्यूले निर्देशन दिएको ५ दिन पुग्यो’, उनले भने, ‘एसपीपीको पत्र पठाएको के छ भनेर निर्देशन दिएको ५ दिन पुग्यो । सरकार कहाँ छ यो देशमा छ कि अन्त कतै छ ?’

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय र संसदको निर्देशन पनि यो सरकारले नसुनेको बताए। ‘सम्माननीय सभामुखले दिएको निर्देशन पनि नसुन्ने सरकारले कहिलेदेखि कान सुन्नलाई कहिलेदेखि सर्वणशक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन’, रावलले भने ।

सांसद रावलले भारतले सेनाका लागि ल्याएको नयाँ योजना ‘अग्निपथ योजना’ अन्तर्गत नेपाली युवालाई गोर्खा सैनिकमा भर्ती गरेमा गोर्खा भर्ती सन्धि खारेज गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने पनि बताए । उनले अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भारतीय गोर्खा सैनिकमा भर्ती गर्न लागेको हो कि होइन ? भनेर सरकारसँग जवाफ माग गरेका थिए ।

उनले भने, ‘भारतले अग्निपथ योजना गोर्खा भर्तीको सन्दर्भमा लागू हुन्छ कि हुन्न ? त्यसो गरिएमा गोर्खा भर्ती सन्धिको उल्लंघन हुन्छ । त्यसो गरिएमा नेपालले गोर्खा भर्ती सन्धि खारेजको बाटोमा जानुपर्छ ।’