संसदीय समितिले माग्यो सिंहदरवार छिर्ने गेटको सीसीटीभी फुटेज

संसदीय समितिले माग्यो सिंहदरवार छिर्ने गेटको सीसीटीभी फुटेज


ग्लोब नेपाल
216
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले गत १४ जेठको राति सिंहदरबार प्रवेशद्वारको भिडियो नै हेर्ने निर्णय गरेको छ ।

आईतबार बसेको छानबिन समितिको बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को-को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए । समितिका ती सदस्यले बजेट निर्माण गर्दा शर्माले गलत गरेको कुनै क्लु फेला नपरेपछि अर्को बाटोबाट पनि छानबिन गर्न लागिएको बताए।

छानबिन समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले पनि आईतबार बसेकाे समितिको बैठकले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेकाे पुष्टि गरे । ‘सिंहदरबार प्रवेश गर्ने दुवै गेटको सीसीटीभी फुटेज मगाउने निर्णय भएर लिखित आग्रह गरिएको छ,’ अर्यालले भने।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसदले छानबिन गर्न विशेष समिति गठन गरेको थियाे । समिति गठनपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् ।

छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, र विमला विक र कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम महता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवालीबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।